चितवनका सात हजार किसानले पाए चैतेधान प्रोत्साहन अनुदान
चितवन जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा एक सय रूपैयाँका दरले र सोभन्दा बढी धान लगाएका किसानले ९५ रूपैयाँका दरले अनुदान रकम प्राप्त गरेको कृषि ज्ञान केन्द्रकी निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।
खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । उनका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि तीन हजार सात सय छ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गरिएको हो ।
प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले ७५ लाख रूपैयाँ विनियोजन गरेको थियो । कार्यक्रमअनुसार प्रतिकट्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णयअनुसार अनुदान रकम दिइएको हो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ ।
प्रतिक्रिया