कांग्रेस केन्द्रीय कार्य समितिको बैठकका यी हुन एजेण्डा, प्रत्यक्ष प्रशारणको तयारी पुरा

नेपाली कांग्रेसको आजबाट सुरुहुने केन्द्रीय कार्य समितिको बैठकका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणको तयारी पुरा भएको छ । पार्टीले सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने भएको हो ।

हालसम्म राष्ट्रिय दलले आन्तरिक बैठक लाइभ नगरेका बेला देउवाले पहिलोपल्ट यस्तो प्रस्ताव अघि सारेका हुन् । बैठकका एजेन्डामाथि छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको अनौपचारिक बैठकमा देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण पस्कँदै बैठक लाइभ गर्ने प्रस्ताव ल्याएका थिए ।

सभापति देउवाको प्रस्तावमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतको असहमति थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने लाइभ गर्दा सकारात्मक सन्देश नै जाने धारणा राखेका थिए ।

सभापति देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए । बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *