महाराजगञ्ज अस्पतालका फार्मेसी प्रमुख मृत्यु प्रकरण, आत्महत्या दुरुत्साहनको कसुरमा प्रशासन प्रमुखसहित चार पक्राउ

त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मृतकले लेखेको सुसाइड नोटका आधारमा अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् ।

परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *