माल्टा पठाइदिने भनी पाँच लाख ८५ हजार ठगी गर्ने महिला पक्राउ
२५ असार २०८० १९:५३
नेपाल प्रहरीले माल्टा पठाइदिन्छु भनी पाँच लाख ८५ हजार रूपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनी पाँच लाख ८५ हजार रूपैयाँ ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले एक लाख रूपैयाँ तलब हुने माल्टाको कम्पनीमा जानका लागि ६ लाख रूपैयाँ लाग्छ भनी पाँच लाख ८५ हजार रूपैयाँ लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।
प्रतिक्रिया