जब चोरेको कार उडेर घरमा पस्यो…

भक्तपुरमा एउटा कार उडेर घरभित्र पसेको छ। चोरीको उक्त कार स्कुटीको चाबीले क्लोज दबाउँदा उडेर घरमा छिरेको हो।

बुधबार बिहान सवा दश बजे यो घटना भएको हो।

प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक-८, डोलेश्वरमा प्रदेश नं. ३-०१-०२२ च ४९८९ नम्बरको कार रोकेर राखिएको थियो।

सो कार भक्तपुर नगरपालिका-५, आर्दशबाट चोरी गरिएको प्रहरीले जनाएको छ।

काभ्रे बेथानचोक गाउँपालिका-४ घर भई हाल डोलेश्वर बस्ने २८ वर्षीय श्रवण खत्रीले बागमती प्रदेश नं. ०२-०२९ प ३५०४ नम्बरको स्कुटी चलाएर सो स्थान पुगेका थिए। सोही स्कुटीको चाबीले कारको ढोका खोलेर कारको क्लोज दबाउँदा उक्त कार उडेर बाटोमुनि रहेको बलराम खाइतुको दुई तल्ले पक्की घरमा छिरेको हो।

घटनामा मानवीय क्षति नभएको तर घरको ढोका, जस्ता र फलामको ट्रस, घरभित्र रहेको डिफ्रिज, घरको पर्खाल, कारको विभिन्न भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त जगातीबाट सई रामबहादुर चौधरीको कमाण्डमा ५ जनाको टोली खटिएको छ।

कार चालक रामेछाप सुनपाती गाउँपालिका-४ घर भई भक्तपुर पाण्डुबजार बस्ने ४४ वर्षीय समिन लामा र स्कुटी धनी सोही स्थान बस्ने ५४ वर्षीय सानुकाजी सिम्बन्जर वृत्त जगातीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *