नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
१९ असार २०८० १७:१९
जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ।
जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको योगफल बनायो।
नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए। उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए। कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए।
त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे। भीम सार्कीले २० रन बनाए।
बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २/२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए। आयरल्याण्ड अहिले जवाफी व्याटिङमा उत्रेको छ।
प्रतिक्रिया