नवीन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले इन्टरनेटको विकास र प्रयोग बढेसँगै टेलिकम कम्पनीहरूको व्यापार कम हुँदै जाने भएकाले नवीन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

आज काठमाडाैंमा आयोजित ‘दूरसञ्चार विकास’ विषयक कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसञ्चार तथा सूचनाप्रविधिमन्त्री महराले इन्टरनेटको प्रयोग बढेसँगै विद्यमान ‘टेलिकम्युनिकेशन’ क्षेत्र साँघुरिने तर्क गरे।

उनले भने, ‘हामीले दूरसञ्चारमा क्रान्ति गर्याैं। तर अहिलेसम्म आइपुग्दा टेलिकम कम्पनीहरूको भविष्य त्यति राम्रो देखिँदैन। त्यसैले सञ्चारका नयाँ प्रविधिमा प्रविधिलाई अपनाउनुको विकल्प छैन।’

हरेक वर्ष प्रविधिमा परिवर्तन आउने भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोहीअनुसार नयाँ नीति बनाउनुपर्ने उनकाे सुझाव थियो।

नेता महराले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संवेदनशील छ। बदलिँदो प्रविधि र अभ्याससँगै नीतिमा पनि अपग्रेड हुनुपर्छ।’ उनले सेवालाई शहर केन्द्रित मात्र नगराएर ग्रामीण दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न सरोकारवालाको ध्यानाकर्षण गराए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले दूरसञ्चार सेवा शूल्क महँगो हुनु सेवा प्रदायकको बाध्यता भएको बताए। उनले भने, ‘सेवा शुल्क महँगो छ। प्रत्यक्ष कर मात्रै ३२ प्रतिशत र अप्रत्यक्ष कर जोड्दा ४२ प्रतिशत हुन्छ। अर्कोतर्फ आवश्यक सबै उपकरण विदेशबाट ल्याउनुपर्ने बाध्यता छ।’

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले भनिन्, ‘अहिले सरकारको लक्ष्यअनुसार सात सय ३९ वटा स्थानीय तहमा फोर जी सेवा पुगेको छ। बाँकी १४ स्थानीय तहमा भौगोलिक विकटताका पुर्‍याउन सकिएको छैन। यही वर्षभित्रमा ती क्षेत्रमा पनि फोर जी पुर्‍याउने छौँ।’

कार्यक्रममा उपस्थित निजी सेवा प्रदायक संस्थाहरूले सरकारसँगको सहकार्यमा डिजिटल नेपालको फ्रेमवर्कका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर