सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखेका छन्।

चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजको १२ औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गरे।

‘लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ। यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले भने, ‘कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र मेरो कुराकानीबाट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण सङ्घर्षमा आयो र संयुक्त जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो। यस गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य हो। म बौद्धिक वर्गलाई पनि यही आग्रह गर्दछु।’

उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ। उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो। उहाँप्रति मेरो अगाध आस्था र विश्वास रहीरहनेछ।’

उनले राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्र निर्णायक तत्त्व भएको उल्लेख गर्दै विश्वविद्यालय ऐनको तयारीका काम भइरहेको अवगत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर