नेकपा ब्युँताउनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएका छन्।
कम्युनिष्ट पार्टीका संस्थापक स्व. नारायणविलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आज आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राखे।
विश्वको कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उनले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिष्ट एकता गर्न सबै लाग्नुपर्ने बताए।
‘एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा बनेपछि, आमजनतामा ठूलो उत्साह आयो, प्रतिक्रान्ति आतङ्कित भयो, तर दुर्भाग्य त्यो एकतालाई बचाउन सकेनौँ, यसप्रति म कसैलाई दोषारोपण गर्न चाहन्नँ। त्यतिबेला कहाँनिर हाम्रो विचार, राजनीति, आचरण, चिन्तन, संस्कृति, भावना कहाँनिर त्रुटि भयो, त्यसको गम्भीर समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर एकताबद्ध भएर जानुपर्छ,’ उनले भने।
उनले तत्कालीन समयमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो कम्युनिष्टसँग एकता गर्दै देशलाई आर्थिक समृद्धितर्फ, समाजवादतर्फ लैजान सकिन्छ भनेको स्मरण गरे। ‘कम्युनिष्ट एकता गरेपछि झण्डै दुई तिहाइ मत पनि प्राप्त भयो तर हामीले त्यसलाई जोगाउन सकेनौँ,’ उनले भने।
उनले समाजवादी मोर्चा गठन वामपन्थी एकताको सुरूआत भएको बताए। उनले माधव नेपाल र आफूबीच फेरि नेकपातिर फर्केर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा समझदारी भएको समेत बताए।
‘अहिले म, माधवकुमार नेपाल, विप्लव र उपेन्द्र यादवसमेतले समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरू गरेका छौँ,’ उनले भने।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भए पनि समाजादको स्थापना गरी जनताको जीवनलाई आमूल परिवर्तन गर्ने जिम्मेवारी बाँकी नै रहेको बताए।
‘समाजवादको स्थापना गर्दै जनताको जीवनमा आमूल परिवर्तन ल्याउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ,’ उनले भने, ‘अहिले त्यो जिम्मेवारी पूरा गर्ने कार्यको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिरहनुभएको छ।’
नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले देशमा वामपन्थीको ठूलो जनमत हुँदा पनि कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए। उनले भने, ‘अहिले कम्युनिष्टहरू विभाजित भएर होइन, जुटेर सबै एकैठाउँमा बसेर जानुपर्ने बेला आएको छ।’
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो बजेट लगानी गरेको बताउँदै प्रतिष्ठानको भवनमा स्वास्थ्य क्लिनिक र आयुर्वेदिक अस्पताल सञ्चालन गर्न नगरपालिका तयार रहेको बताए।
प्रतिष्ठानकी कोषाध्यक्ष सुशीला सुवेदीले नारायणविलास जोशीको भवन निर्माण र सालिक स्थापनामा स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न निकायबाट बजेटको व्यवस्थापन भएको बताइन्।
प्रतिष्ठानका अध्यक्ष एवं बागमती प्रदेशसभाका कृषि तथा पशुपक्षी विकास्मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्येका एक जोशीको योगदानलाई सधैँ जीवित राख्न प्रतिष्ठानले आफ्नै भवन निर्माण गर्दै प्रतिमा स्थापना गरेको बताए। उनकाे योगदानलाई कम्युनिष्ट पार्टीले बिर्सन नहुनेमा जोड दिँदै कम्युनिष्टलाई एकताबद्ध बनाउन सबै नेतृत्व लाग्नुपर्ने औँल्याए।
प्रतिष्ठानको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) बाट ९५ लाख ६४ हजार सात सय ७८, चाँगुनारायण नगरपालिकाबाट २४ लाख १० हजार छ सय ६५, सूर्यविनायक नगरपालिकाबाट २२ लाख ६९ हजार एक सय ९४ रूपैयाँ प्राप्त भएको छ। साथै सार्वजनिक निर्माण कार्यान्वयन कार्यालय गजुरी, धादिङबाट ३५ लाख ९६ हजार चार सय, शहरी विकास तथा भवन कार्यालय कुलेश्वर, काठमाडौँबाट नौ लाख ८८ हजार एक सय ९८, संस्थाबाट योगदान ११ लाख र ऋण दायित्व ४५ लाख गरी कुल दुई करोड ४४ लाख २९ हजार दुई सय ३५ रूपैयाँ खर्च भएको प्रतिष्ठानका सचिव महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर