गुरू कुट्नेहरू विद्यार्थी हुँदैनन् : केपी ओली
'ज्ञानको विकास र विस्तार नेपालबाटै भएको हो'
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरूआत भएको बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा काठमाडाैंमा सम्बोधन गर्दै उनले भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए।
‘पहिलो शास्त्र, पहिलो लिपि र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो,’ उनले भने, ‘वाद्यवादन, नृत्य, साहित्यमा नवरस र पहिलो कविता पनि यही भूमिबाट सुरू भएको हो।’
अध्यक्ष ओलीले शिक्षा व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा समेत जोड दिएका छन्। उनले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको बताए।
उनले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमुना कलेज बनाउन सुझाव दिए। विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उनले शिक्षकले पनि मेहनत गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले गुरू कुट्नेहरू विद्यार्थी नहुने भन्दै शालीन, इमान्दार र विनम्रता विद्यार्थीका गुण भएको बताए। विद्यार्थीले रूचिअनुसारको विषय अध्ययन गर्न नपाएको उल्लेख गर्दै भने, ‘अवसरले प्रतिभालाई प्रस्फुटन गराउँछ, त्यसैले अवसरलाई सदुपयोग गर्नुपर्छ।’
अध्यक्ष ओलीले नेपालमा विकासको धेरै सम्भावना भएको भन्दै धेर काम गर्न सकिने बताए। उनले अमेरिकाका लागि एक प्रतिशत उत्पादकत्व वृद्धि धेरै भए पनि हाम्रा लागि भने १० प्रतिशतको वृद्धि पनि कम हुने बताए।
प्रतिक्रिया