संयुक्त राष्ट्रसङ्घबाट फर्कँदै राई, यी हुन् कार्यकालका उपलब्धि

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा छन्।

उनले यहीक्रममा सोमबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइ भेट गरेका छन् । भेटमा उनले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए। भविष्यमागर्न सकिने सहकार्यलाई स्वदेश फर्किएपछि यतैबाट पहल गर्ने प्रतिबद्धतासमेत स्थायी प्रतिनिधि राईले जनाए। महासचिव गुटेर्रेसले राईको सफल कार्यकालको प्रशंसा गर्दै सम्बन्धलाई थप बलियो बनाउन पहल नछाड्न अनुरोध गरेका थिए ।

चार दिनअघि मात्र उनले अतिकम विकसित मुलुकको राजदूतस्तरीय बैठकको अध्यक्षका रूपमा सहभागिता जनाउँदै समूहको हितको संरक्षण र प्रवर्धनमा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले अतिकम विकसित मुलुकका तर्फबाट रणनीतिक प्राथमिकता विषयक प्रस्तुति दिएका थिए। अतिकम विकसित मुलुकहरूले आफ्नो सामथ्र्य र शक्तिको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनुपर्ने मार्गदिशाबारे सो बैठकमा बहस भएको थियो।

अतिकम विकसित मुलुक तथा भूपरिवेष्टित विकासोन्मुख मुलुक तथा साना टापु राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फातिमा रबाबले उनको कामको उच्च प्रशंसा गर्दै ती मुलुकको सङ्गठनात्मक अध्यक्षताका रूपमा राईको उपस्थिति उच्चस्तरीय रहेको बताइन् । कामलाई दिने गरेको प्राथमिकता र विषयगत प्रभावकारिताको स्तर निकै उच्चस्तरीय रहेको पनि रबाबले सामाजिक सञ्जालमा लेखेकी छन् ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो। पहिलो प्रतिनिधिका रूपमा ऋषिकेश शाह सन् १९५६ मा राष्ट्रसङ्घ पुगेका थिए । राई १३ औँ प्रतिनिधिका रूपमा सन् २०१९ मार्च ४ तारिखमा न्युयोर्कमा कार्यरत छन्। उनले संयुक्त राष्ट्रसङ्घका चार वटा महासभामा नेपालका तर्फबाट प्रतिनिधित्व गरिसकेका छन् ।

स्थायी प्रतिनिधि राईको कार्यकाल अप्ठ्यारो परिस्थितिमा बित्यो। कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त बनेका बेला आफ्नो कार्यकालका ऊर्जाशील समयमा उनले कोभिडविरुद्धको खोपमाथि नेपालको पहुँचका लागि निरन्तर पहल गरे। फलस्वरूप कोभ्याक्स अनुदानको खोपसहित युरोपेली मुलुकबाट खोपको सहज आपूर्ति भयो।

हाल नेपालले दोस्रो कार्यकाल २०२१–२०२३ का लागि संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यको पदभार ग्रहण गरेको छ। निर्वाचनमा उनको पहलका कारण सफलता पाउन सक्यो। त्यस्तै सिड कमिटीको सदस्य तथा आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत एसिया प्रशान्त समूहको सदस्यमा नेपाललाई निर्वाचित गराउन उनको योगदान अतुलनीय रहेको कूटनीतिक विज्ञहरू बताउनुहुन्छ।

त्यस क्रममा उनले सेन्डाई फ्रेमवर्कको पुनरवलोकनसम्बन्धी उच्चस्तरीय बैठकको नेतृत्व गर्दै आवश्यक कार्यदिशाका लागि मार्गनिर्देश गरे, जुन नेपालकै लागि ठुलो प्रतिष्ठाको विषय हो।

प्रतिनिधि राईले आफ्नो कार्यकालका क्रममा नेपालको द्विपक्षीय सम्बन्ध विस्तार गर्न सुझबुझका साथ काम गरे। जस अनुसार चार वर्षभित्र १७ वटा मुलुकसँग द्विपक्षीय सम्बन्ध स्थापना भएको छ। यसले नेपाल जस्तै र नेपालभन्दा बलियो आर्थिक अवस्था भएका युरोपेली मुलुकसँग गाँसिएको सम्बन्धले नयाँ साझेदारीको ढोका खुला भएको छ। नेपालले अहिलेसम्म १८१ मुलुकसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्न सकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर