साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो
भारतमा जारी १४औँ संस्करणको पुरूष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ।
भारतको बैंग्लोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो। नेपालको जीतमा आशिष चौधरीले गोल गरे।
उनले खेलको ८०औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो। आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरेका हुन्।
समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जित हो। नेपालले तीन खेलमा ३ अङ्क जोड्दै प्रतियोगिता टुङ्ग्याएको छ। यस जीतसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो। त्यस्तै पराजित पाकिस्तानले अङ्कविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ।
पाकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो। यस समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन्।
प्रतिक्रिया