अबदेखि एक यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै विमानस्थल जान पाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जना मात्रै जान पाइने भएको छ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो।
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो।
अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ। विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भीड लाग्छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भरिरहेका छन्।
प्रतिक्रिया