काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँकाे बजेट

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।

आज राष्ट्रिय सभागृहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेकाे बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रूपैयाँ बजेट नियोजन गरिएको छ ।

महानगरले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ रूपैयाँको बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब १४ करोड रूपैयाँले बढी हो ।

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयले समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख रूपैयाँ प्राप्त भएको छ ।

महानगरले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ । महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब रूपैयाँ विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजना गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि सात करोड रूपैयाँ विनियोजन गरिएको छ । बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर