बाढी-पहिरोबाट सिन्धुलीका ३१ घरमा क्षति
९ असार २०८० १५:३९
सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२, बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।
आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिरोबाट पशुचौपाया र कुखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए। लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।
‘बाढी-पहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ’, वडाध्यक्ष कार्कीले भने, ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।’
प्रतिक्रिया