हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरूले २० दिनको आवासीय प्रशिक्षण लिएका थिए।

प्रशिक्षणमा प्रशिक्षार्थीहरुलाई शारीरिक, सामाजिक, वैचारिक, बैद्धिक तथा बौद्धिक प्रशिक्षण दिइएको थियो।

समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारले सम्बोधन गरेका थिए । समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद नवल किशोर साह थिए।

देशैभर बाट आएका स्वयंसेवकहरूले एकै ठाउँमा २० दिनसम्म बसेर प्रशिक्षण लिएका थिए। बिहान ५ बजे जागरणसँगै शुरू हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउँसो विभिन्न समसामयिक विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो। राष्ट्र, राष्ट्रियता, देशभक्ति, धर्म संस्कृति, ध्यात्मजस्ता विषयहरूमा दैनिक रूपमा छलफल हुने गरेको थियो । यस्तै साँझमा पनि संघ शाखा र शारीरिक दक्षताको प्रशिक्षण दिइन्थ्यो।

सबै स्वयंसेवकहरूसंगै संघका पदाधिकारी र प्रशिक्षकहरू सबै एकै ठाउँमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो। समाजका विभिन्न व्यक्तित्वहरूबाट विभिन्न सामाजिक, सांस्कृतिक र इतिहासको विषयमा सधै एक घण्टाको बौद्धिकको कार्यक्रम पनि भएको आयोजकले जनाएका छन् ।

हिन्दू स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तिमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान रहेको छ।

शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनलाई सहज बनाउँदै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा तालिम दिने गरिन्छ।

२० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *