
भ्रष्टाचार आरोपमा ओखलढुंगाको मोलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष तामाङसहित ११ जनाविरूद्ध मुद्दा

ओखलढुंगाको मोलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष हेमकुमारी तामाङविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक निर्माणमा भ्रष्टाचार गरेकाे अभियाेगमा तामाङसहित ११ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मोलुङ गाउँपालिका-२ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा कीर्ते गरी नक्कली फाइल खडा गरेर अनियमितता गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको हो।
उनीहरूले उक्त कार्यटबाट ३ लाख ८२ हजार ५० रूपैयाँ भ्रष्टाचार गरेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
मुद्दा दर्ता हुनेहरूमा योजना अनुगमन समितिकी संयोजकसमेत रहेकी पूर्वउपाध्यक्ष तामाङसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनियर माधव निरौला, असिस्टेन्ट सबइञ्जिनियर शिवप्रसाद अधिकारी, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र राई, सचिव भक्तराज राई, कोषाध्यक्ष ननमाया राई छन्।
यस्तै मोलुङ गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष टंकबहादुर कार्की, वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्रवल घिमिरे र योजना शाखा प्रमुख (नासु) वोदन केसीविरूद्ध पनि मुद्दा दर्ता भएको छ।
अख्तियारका अनुसार उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको नक्कली विवरण तयार गरेका थिए।
उनीहरूले गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरू तयार गरी/गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रूपैयाँ हानि पुर्याउन बदनियतपूर्वक भुक्तानीसमेत गरेको देखिएको अख्तियारको दाबी छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया