हरिशरण बर्तौला मृत्यु प्रकरण : हत्या कि भवितव्य?

मकवानपुरमा भिरबाट लडेर मृत्यु भएको भनिएको एक घटना शंकास्पद रहेको मृतकका परिवारले बताएका छन्।

चितवनको राप्ती नगरपालिका-६, भण्डारा हर्दीका ४४ वर्षीय हरिशरण बर्तौलाको मकवानपुरको थाहा नगरपालिका-३ मा भएको मृत्यु शंकास्पद रहेको परिवारले बताएका हुन्।

केही दिनदेखि थाहा नगरपालिका-३, घट्टेखोलास्थित मामाघरमा बस्दै आएका उनको मृत्यु स्वाभाविक नदेखिएको मृतकका परिवारका एक सदस्यले बताए।

प्रहरीले भिरबाट लडेर उनको मृत्यु भएको भने पनि शकांस्पद अवस्थामा शव फेला परेको भन्दै कसैले हत्या गरेको हुन सक्ने आशंका परिवारले गरेका हुन्।

हरिशरणको जेठ २९ गते थाहा नगरपालिका-३ स्थित भैरवकाली सामुदायिक वन क्षेत्रको ‘काले हराएको खोल्सो’ मा शव फेला परेको थियो। त्यसको तीन दिनअघिदेखि सम्पर्कविहीन बनेका उनको खोजतलासका क्रममा आफन्तले शव भेटेका हुन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु भिरबाट लडेर भएको भनेको छ। यद्यपि घटना र शवको प्रकृति हेर्दा उनको मृत्यु भिरबाट लडेर नै भएको हो भन्नेमा शंका उब्जिएको परिवारका सदस्यले बताएका छन्।

मृतक हरिशरणका दाइ राधाकृष्ण बर्तौलाले टाउकोमा बाहेक शरीरका अन्य कुनै पनि भागमा गहिरो चोट नदेखिएका कारण उनको कसैले हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने बताए।

‘भिरबाट लडेको भए शरीरमा गहिरो चोटपटक हुनुपर्ने हो। त्यस्तो केही छैन। मदिरा सेवन गर्ने हुनाले कसैसँग झगडा भएको र झगडा हुँदा कसैले कुटेर हत्या गरेको हो कि भन्ने लागेको छ,’ हरिशरणका दाजु राधाकृष्णले भने, ‘सोझो मान्छे थियो। अलिअलि रक्सी खाने गरे पनि त्यसरी जंगल-जंगल दौडिहिँड्ने मान्छे होइन।’

उनका अनुसार खोजतलासका क्रममा जेठ २९ गते दिउँसो ३ बजेतिर हरिशरणको शव जंगलको खोल्सामा भेटिएको हो। जंगलमा शव रेखदेख गर्न नसक्ने अवस्था भएपछि प्रहरीलाई खबर गरेर सोही दिन शव उठाउन अनुमति दिइएको थियो।

घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय, पालुुङले गरिरहेको छ। हरिशरणकाे जेठ ३० मा दाहसंस्कार गरिएकाे र १३ दिने पुण्यतिथि सकिएछि प्रहरीले आफूहरूलाई पालुङ बोलाएको उनका दाजु राधाकृष्णले बताए।

मृतक हरिशरणको शव जिल्ला अस्पताल, मकवानपुरमा पोष्टर्मटम गरिसकिएको र रिपोर्ट आउन बाँकी रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। हरिशरणको शव दुवै हातमा फित्ते चप्पल झुण्ड्याएको अवस्थामा भेटिएको हो।

अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले भने हरिशरणले विगतदेखि नै मदिरा सेवन र होहल्ला गर्ने गरेको बुझिएको बताए। आफन्तलाई काममा सघाइरहेका उनले बेपत्ता भएको दिन पनि मदिरा सेवन गरेका थिए।

नशा लागेपछि दायाँ खुट्टाको चप्पल बायाँ र बायाँ खुट्टाको चप्पल दायाँ हातमा झुण्ड्याएर उनी दौडिँदै कतै निस्किए पनि विगतदेखिकै त्यस्तो बानीका कारण आफन्तले खासै वास्ता नगरेको ती प्रहरी अधिकृत बताउँछन्।

‘पहिल्यैदेखि मदिरा पिउने र होहल्ला गर्ने बानी रहेछ। हराएको दिन पनि आफन्तलाई काममा सघाइरहेका बेला नशा लागेपछि दुई हातमा फित्ते चप्पल झुण्ड्याएर दौडिएका रहेका छन्,’ उनले भने, ‘पहिल्यैदेखि त्यस्तो बानी भएकाले आफन्तले खास वास्ता नगरेको र उनको मनस्थिति पनि केही ठीक नभएको जस्तो बुझियो।’

ती प्रहरी अधिकृतले मृतक हरिशरणको शरीरमा कुनै गहिरो चोटपटक भने नदेखिएको र थप कुरा पोष्टर्मटम रिपोर्टपछि थाहा हुने बताए।

‘शरीरमा कुनै गहिरो चोटपटक देखिएन। शवको पोष्टमर्टम भइसकेको छ। रिपोर्ट आउन बाँकी छ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर