बाढी-पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूको माग
सांसदहरूले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरलगायतका जिल्लामा अत्यधिक वर्षाका कारण बाढी-पहिरो आई क्षति भएकाले घरबारविहीनलाई तत्काल बासको प्रबन्ध गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न माग गरेका हुन् ।
सांसद शान्ति विकले हरेक वर्ष वर्षाका कारण मानवीय क्षति हुने र हाल ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकाले पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरिन् । उनले पूर्वतयारीमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिइन् ।
सांसदहरु शेरबहादुर कुँवर, शान्ति चौधरी र सम्झना थपलिया, हितराज पाण्डे, हेमराज राई र ज्ञानेन्द्रबहादुर कार्कीले पनि पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढीपहिरोका कारण पीडित नागरिकलाई राहतको प्रबन्ध गर्न माग गरे । सांसद सूर्यबहादुर थापाले पीडितलाई दीर्घकालीन राहतको प्रबन्धको गर्नुपर्नेमा जोड दिए ।
सांसद सूर्यमान तामाङ दोङले काभ्रे, रामेछाप र सिन्धुलीमा आयोजनास्थल रहेका रणनीतिक महत्वका आयोजना अगाडि बढाउन बजेटको प्रबन्ध हुन नसकेकामा गुनासो गरे। उनले किसानको उपजको बजारीकरण गर्न माग गरे ।
सांसद विनिताकुमारी सिंहले सामुदायिक विद्यालयका कार्यरत कार्यालय सहयोगी र कर्मचारीले उचित पारिश्रमिक नपाएको र आगामी आर्थिक वर्षको बजेटमासमेत सम्बोधन नभएकामा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद बिना जैसवालले धर्म संस्कृति तथा कलाको प्रवर्द्धनका लागि वीरगन्ज महानगरपालिकाले अगाडि बढाएको अभियानको सरहाना गरिन् ।
सांसद शान्ति श्रेष्ठले नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाहको प्रबन्ध गर्न र उनीहरूको अधिकारको सम्मान गर्न माग गर्नुभयो । त्यस्ता नागरिकलाई परिचयपत्रको व्यवस्था र हेरचाह केन्द्रको प्रबन्ध गर्न माग गरिन् ।
सांसद शिव नेपालीले किसान बाटोमा उत्पादन फाल्न बाध्य भएको भन्दै तत्काल राहतको प्रबन्ध गर्नका साथै स्मार्ट लाइसेन्समा भइरहेको ढिलासुस्तीप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद सन्तोष परियारले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमणमा सहभागीलाई कारबाही नगरी त्यत्तिकै छाडिएकोमा आपत्ति प्रकट गरे । सांसद सराज अहमद फारुकीले वाणगङ्गा सिँचाइ योजना सरकारको प्राथमिकतामा नपरेको तथा कृष्णनगर नगरपालिकामा रहेको अधुरो योजना पूरा गर्न माग गरे ।
सांसद सीताकुमारी रानाले जल, जमिन र जङ्गलको संरक्षण गर्ने र भूमिपूजन गर्ने मगर समुदायमाथि विभाजन गर्न खोजिएको र राष्ट्रिय जनगणनामा पहिचान मेट्न खोजिएकोमा गुनासो गरिन् ।
सांसद सुमना श्रेष्ठले भित्रुवन विश्वविद्यालयका परीक्षामा नेपाली भाषामा प्रश्नपत्र बनाउन र विद्यार्थीलाई अनावश्यकरूपमा अनुत्तीर्ण गराउन खोजिएकोमा शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
सांसद सोविता गौतमले किसान र उपभोक्ताकाबीचमा विभिन्न छ तहको विचौलिया रहेकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन् ।
सांसद सञ्जयकुमार गौतमले तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न गरेको प्रस्ताव आज पनि सान्दर्भिक रहेकाले सर्वदलीय सहमति जुटाएर त्यसलाई अगाडि बढाउनु पर्ने बताए ।
प्रतिक्रिया