प्रतिगमनका मतियारहरूलाई असफल बनाउन एकै ठाउँ उभिएका हौं : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथ आफूहरू साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताएका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका अधिकारलाई कमजोर बनाउन प्रतिगमनका मतियारहरू लागिपरेकाले त्यसलाई असफल बनाउन अग्रगामी शक्तिहरू एकै ठाउँमा उभिनु परेको बताए।

संविधानमा रहेको कमजोरीलाई सुधार गर्दै नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथै आर्थिक क्रान्तिलाई अगाडि बढाउने एवं कृषि, उद्योग, ऊर्जा पर्यटनलगायतका क्षेत्रको विकास गर्न साझा धारणाका साथ एक ठाउँमा उभिएको अध्यक्ष यादवको भनाइ छ।

आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित बनाउने देश कुन हो भनेर सोध्दा सबैले नेपाल भन्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष यादवले सङ्घीय संसद्ले दुई-दुईपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले रोकेका कारण समस्या उत्पन्न भएको बताए।

राष्ट्रिय पुँजीको विकास, वैदेशिक लगानी भित्र्याएर मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउने लक्ष्य मोर्चाले राखेको जानकारी दिँदै उनले वर्गीय, क्षेत्रीय एवं लैङ्गिक असमानताको अन्त्यका लागि साझा लक्ष्यका साथ मोर्चा बनाइएको स्पष्ट पारे।

अध्यक्ष यादवले सबै दलका आ-आफ्ना राजनीतिक उद्देश्य रहे पनि साझा दृष्टिकोणका साथ एक ठाउँमा उभिएको र आगामी दिनमा यसलाई पूर्ण रूपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरे।

उनले मोर्चालाई लिएर कोही कसैले पनि तर्सन जरूरी नरहेको र कोहीको विरुद्धमा पनि नभएको बताए। मुलुकको अग्रगमन, नेपाली जनताको हितका लागि परस्पर सहयोगका आधारमा अगाडि बढ्ने दृढता व्यक्त गर्दै अध्यक्ष यादवले प्रतिगमनका विरूद्ध साझा प्रतिवाद गरिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर