वीरगञ्जमा भन्सार छलेर ल्याएको १९ लाख बढीको मोबाइल र घडीसहित भारतीय पक्राउ

पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याएको १९ लाख रूपैयाँ बढी मूल्यका विभिन्न ब्राण्डका मोबाइल र घडीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुरका ३३ वर्षीय मनोज कुमार छन्।

प्रहरीका अनुसार जेठ २ गते उनले भन्सार छली गरी भारतबाट ल्याएर मोबाइल तथा घडी अनधिकृत रूपमा भन्डारण गरेर राखेकाे सूचना प्राप्त भएको थियो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दै जाने क्रममा उनी वीरगञ्ज महानगरपालिका-३२, वदननगर बस्ने मनोज साहको घरमा कोठा भाडामा लिएर बसेको खुलेको थियो।

उनको कोठा खानतलासी गर्दा विभिन्न ब्राण्डका मोबाइल तथा घडी फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए।

प्रहरीले उनको कोठबाट एप्पल मोबाइल २ थान, रेडमी ७ थान, ओप्पो ९ थान, भिभो १० थान, वान प्लस २ थान, सामसङ १३ थान, रियलमी २ थान, टेक्नो १० थान, टेक्नो पोभा १ थान, आईटेल १ थान, टेक्नो क्यामन १ थान, पोको १ थान गरी ५९ थान मोबाइल बरामद गरेको छ।

यस्तै टाइटन घडी ११४ थान, सोनाटा घडी ५ थान, हिलफिगर १२ थान, फास्ट ट्याक ५४ थान गरी १८५ थान घडी बरामद भएको छ।

बरामद मोबाइल तथा घडीको जम्मा मूल्य १९ लाख १४ हजार रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

बरामद मोबाइल तथा घडीसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर