
अब ६६ पृष्ठको राहदानी ५ हजार रूपैयाँमै


राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजार रूपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजार रूपैयाँमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि पाँच हजार रूपैयाँमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन् ।
उनले भनिन्, ‘सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा पाँच हजार रूपैयाँ लाग्ने र राहदानी विभागबाट लिन चाहेमा १२ हजार रूपैयाँ लाग्नेछ ।’ यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार रूपैयाँ तथा जिल्लाबाट लिन चाहेमा १० हजार रूपैयाँ लाग्ने गरेको समेत प्रवक्ता सापकोटाले जानकारी दिइन् ।
गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय-समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी १० हजार रूपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो । राहदानी विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ ।
शु्क्रबार पत्राचार गरिएको उक्त परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गते आइतबारदेखि संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
प्रतिक्रिया