ताप्लेजुङमा बाढीले बगायो मोटरेबल पुल
अत्यधिक वर्षाका कारण अहिले ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवनमा असर परेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिराले थप जोखिम बढाएकाले यहाँका नागरिक त्रस्त छन् ।
गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयवासीले बताए । सिरीजङ्घा गाउँपालिका-८, याम्फुदिनमा दुईवटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । स्थानीयवासी पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावरहाउस बाढीले क्षति पुर्याएको छ भने अर्को १५ किलोवाटको पाइप पनि बगाएको छ ।
यस्तै स्थानीय जगत्बहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय हिजोदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाका कारण बाढी र पहिराको जोखिम रहेकाले विद्यालयहरु बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रस्त बनेको खेवाङका शिक्षक बिनम माबोले बताए ।
‘विगत ३६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ, गाउँघरमा वारिपारि ओहोरदोहोर गर्ने अवस्था छैन, मानिसहरू बाढी पहिराको त्रासमा छन्,’ उनले भने । विशेषगरी जिल्लाका पूर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामाङ्खे, सुरुम्खिमलगायत ठाउँमा वर्षा भइरहेको छ ।
प्रतिक्रिया