उपप्रधानमन्त्री श्रेष्ठ र अष्ट्रेलियाकी राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधै सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताका लागि धन्यवाद व्यक्त गरे।

राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलिया जस्तो देशबाट साथ-समन्वयको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। खासगरी उर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उनले बताए।

प्रतिउत्तरमा राजदूत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफुहरूलाई खुसी लागेको र भर्खरै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउने तर्फ सहकार्य भैरहेको बताइन्।

व्यापारमा समेत साझेदारी गर्न अस्ट्रेलिया इच्छुक रहेको र दुईदेशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको राजदुत भोल्कले बताइन्।

त्यसका लागि यही अक्टोबर महिनामा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने जानकारी उनले दिइन्।

अष्ट्रेलियामा ठूलो संख्यामा नेपालीहरू रहेको र अष्ट्रेलियाले नेपालीहरूको आतिथ्यता एवम् शान्तिसुरक्षाको ख्याल गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले विशेष धन्यवाद दिए।

राजदूत भोल्कले भने नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटाहरू बढाइएको र कर्मचारी कोटासमेत तय गरिएको बताइन्। साथै नेपाल घुम्न आउने वा सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्ने क्रममा अष्ट्रेलियन पर्यटकलाई नेपाल सरकारले प्रदान गरेको सुरक्षा, समन्वय र सहयोगको लागि राजदूतले धन्यवाद दिइन्।

राजदूत भोल्कले दिवंगत भएका पर्वतारोहीको शव फिर्ता र मृत्युको प्रमाणपत्र उपलब्ध गराउने विषयमा नेपाली कानून र निर्देशिकासँग संगत हुने गरी सहयोगको अपेक्षा गरेको बताइन्।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले केही अप्ठेरो परेको भए आफूले सम्बन्धित निकायसँग बुझेर समन्वय गर्ने बताए।

आफू नेपालस्थित विदेशी नियोगहरूको शरणार्थी सहायता समूहको सहअध्यक्ष रहेको जानकारी दिंदै राजदूत भोल्कले नेपालले भुटानी शरणार्थीहरूलाई प्रदान गरेको सहायता र सदासयताको प्रशंसा गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर