‘अखण्ड भारत’ नक्साबारे नेपालले भारतलाई कूटनीतिक नोट पठाउनुपर्छ : सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतको संसद भवनमा ‘अखण्ड भारत’ को नाममा नेपालको भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्सामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधीनताप्रतिको बेवास्ता भएको बताए।

उनले सो नक्साप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाउन सरकारसँग माग गरे। उनले कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत माग गरे।

उनले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताए। केही दिनअघि एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दूराष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गरे।

उनले ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्यको पनि विरोध गरे।

उनले राजदूत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएका कारण समयमै भेट हुन नसकेको उल्लेख गरे।

उनले सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर