मदिरा सेवनसहित झगडापछि कैलाली कारागारका १६ कैदीबन्दी सारिए, सुरक्षा प्रमुख पनि फेरिए

कैदीबन्दीहरूबीच झगडा भएपछि कैलाली कारागारका १६ जना कैदीबन्दीलाई अन्यत्रका कारागारमा सारिएको छ। २२ जेठमा कारागारभित्र मदिरा सेवन गरेर कैदीबन्दीहरूबीच झडप भएपछि उनीहरूलाई अन्यत्रका कारागार सारिएको हो।

कारागारका निमित्त जेलर लालबहादुर बोगटीले कपिलवस्तु, नवलपरासी, चितवन, महोत्तरी, सप्तरी र सुनसरीका कारागारमा २–२ जना, पर्सा कारागारमा ३ जना र  सिराह कारागारमा एक जनालाई स्थानान्तरण गरिएको जानकारी दिए।

उनका अनुसार कैदीबन्दीहरूबीच आपसी विवादमा झडप भएपछि उनीहरूलाई अन्य कारागारमा सरुवा गरिएको हो। निमित्त जेलर बोगटीका अनुसार उक्त घटनालाई लिएर सुरक्षातर्फका प्रमुख र सहायक प्रहरी अधिकृतलाई समेत हटाइएको छ।

सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक चरन बुढथापालाई हटाएर उनको ठाउँमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजेन्द्र कुमाललाई राखिएको हो।

यस्तै प्रहरी सहायक निरीक्षक योगेन्द्र बोहरालाई हटाएर उनको ठाउँमा दत्तुराम कोलीलाई जिम्मेवारी दिइएको छ। कैलाली कारागारले कैदीहरूबीच झडप भएपछि आउटडोर चौकीदार र केही कर्मचारीको जिम्मेवारीसमेत हेरफेर गरेको जनाएको छ।

कारागारभित्र मदिरा र लागुऔषधको खुलेआम कारोबार र सेवन हुने गरेको दाबीसमेत गरिएको छ। विभिन्न माध्यमबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको मदिरा र लागुऔषध सेवन गरेको भिडियो कारागारभित्रको भनिएको छ तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यसअघि पनि कैलाली कारागारमा लागुऔषध र मदिराको खरिदबिक्री हुने गरेको कुरा बाहिरिएपछि जेलरसहितका सुरक्षाकर्मीको सिंगो समूह परिवर्तन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर