अत्याधुनिकसहित ६२६८ थान हातहतियार नष्ट

सुरक्षा निकायले विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत गरेका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे अवस्थामा फेला परेका छ हजार दुई सय ६८ थान हातहतियार मंगलबार कानुनबमोजिम नष्ट गरिएको छ । नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार एक सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन एक थान र नाम नखुलेका हतियार १३ थान रहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा काठमाडौँ महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार नष्ट गरिएको हो ।

हातहतियार खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ (३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले बताए ।

उक्त हातहतियार दीर्घकालीन व्यवस्थापन गर्नका लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले २०८० जेठ १७ मा पत्र पठाएको थियो ।

सोही पत्रको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानुनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर