यस संस्करणकाे साफ च्याम्पियनसिप चुनौतीपूर्ण छ : किरण चेम्जोङ

साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई बिदाइ गरिएको हो। नेपालले साफ च्याम्पियसिपअघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ।

टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, एन्फा महासचिव किरण राईलगायतले बिदाइ गरेका हुन्। टोलीलाई राखेप उपाध्यक्ष शिव कोइरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे।

बिदाइपछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताए। उनले छोटो समयको तयारीका बाबजुद पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए। भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोलीले पनि सहभागिता जनाउनुले साफको स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अपेक्षा राखे।

अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतीपूर्ण रहेको कप्तान किरणले बताए। साविक विजेतासहित कुवेतजस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौती भएको उनको भनाइ थियो।

भारतको बैंगलुरुमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन्। टोलीमा प्रशिक्षक एनेसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको बनाएका हुन्। टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी छन्।

असार ६ गतेदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा रहेको छ। समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ। यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतले आमन्त्रित टोलीको रूपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

यस्तै प्रतियोगिताको समूह बी मा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर