शहर सफा बनाउने इन्दौरको अनुभव
शहरमा कहीँ कतै पनि फोहोर देख्न पाइँदैन, धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमित रूपमा पानी हालिन्छ । फोहोर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन् । शहरवासीले कुन प्रकारको फोहोर हो, हेरेर त्यसैमा राख्छन् । कोही कसैले पनि सार्वजनिक स्थानमा फोहोर गर्दैनन् पनि ।
मानिसमा चेतनाको विकास भएको छ, आफ्नो शहर, आफ्नो टोल र समुदायलाई कसरी स्वस्थ र हराभरा बनाउने । स्थानीय सरकार पनि उत्तिकै प्रभावकारी छ । सबै प्रकारको सहयोग उपलब्ध गराएको छ, आफ्ना नागरिकलाई । प्रदेश सरकार र सङ्घीय सरकारले पनि त्यसमा आडभरोसा गरेको छ ।
धुलो, धुवाँ र फोहोररहित शहर बनाउने कुरा आफैँमा सामान्य र चानचुने विषय नै होइन । गरे सम्भव हुँदोरहेछ । यहाँ भागवत गीतामा ‘तिमी आँट म पुर्याउँछु’ भनेजस्तै भएको छ । फोहोर, दुर्गन्ध र धुवाँ तथा धुलोले आक्रान्त भएको काठमाडौँको अवस्था होइन यो । यो त छ सय ८६ माइल अर्थात् एक हजार एक सय चार किलोमिटर टाढा रहेको भारतको मध्य प्रदेशस्थित इन्दौरको अवस्था हो ।
भारतको सबैभन्दा स्वच्छ र सफा शहरको नाम राखेको इन्दौरको सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ । भारत सरकारले त्यसको प्रचारप्रसार मात्रै गरेको छैन, अनुभव साटासाट समेत गराएको छ । कुनै समय काठमाडौँ उपत्यकाजस्तै फोहाेर रहेको इन्दौरले कसरी प्रगति गर्याे त ? आम मानिसमा चासो हुनु स्वाभाविक छ ।
काठमाडौँ उपत्यकामा बेलाबखतमा फोहोरको समस्या बल्झने गरेको छ । फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सङ्घीय सरकार र स्थानीय सरकारको टाउको दुःखाइको विषयसमेत बन्ने गरेको छ । जहाँ समस्या त्यहाँ समाधान । जहाँ फोहोर त्यहाँ मोहोर भन्ने नारालाई वास्तवमै आत्मसात् गरेको इन्दौरको सफल अभ्यास नेपालका लागि पनि सफल उदाहरण बन्न सक्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट यही जेठ १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भारत भ्रमणका क्रममा इन्दौर र उज्जैनकोसमेत भ्रमणको कार्यक्रम थियो । बर्षेनी लाखौँ पर्यटक भित्र्याउन सफल ती दुई शहरको आ-आफ्नै विशेषता र महत्व पनि छन् । एकातिर धार्मिक पर्यटन, अर्कोतर्फ सूचना प्रविधि र औद्योगिक विकासका फड्को मात्रै गएको इन्दौरले राखेको स्वच्छ भारत अभियानको नामले सुनमा सुगन्ध थपेजस्तै भएको छ ।
फोहोरलाई मोहर अनि त्यसैलाई पुनः प्रयोगको सफल उदाहरण बनेको छ इन्दौर । यसको पछाडिको रहस्य के होला ? भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलमा सहभागी प्रतिनिधिमण्डलले पनि जान्ने कोसिस गर्याे । यहाँ फोहोर उत्पादनको स्रोत, घरमा नै फोहोरलाई विभिन्न छ भागमा विभक्त गरिन्छ । हरेक दिन नै इन्दौर नगर निगमको सवार साधनले ती फोहोर सङ्कलन गर्छ । सो सवारी साधनमा नै कुहिने, नकुहिने, प्लास्टिक, औषधिजन्य फोहर सङ्कलन गर्ने व्यवस्था गरिएको छ । इन्दौर सहरको ८५ वडामा पाँच सयभन्दा बढी फोहोर सङ्कलन गर्ने सवारी साधन पुग्छन् र सङ्कलन गर्छन् । मासु तथा माछा पसलबाट निस्कने फोहर सङ्कलनका लागि छट्टै सवारी साधनको व्यवस्था गरिएको छ ।
सङ्कलित फोहाेरलाई पहिलो चरणको व्यवस्थानका लागि १० वटा ट्रान्सर्फर सेन्टर स्थापना गरिएको छ । ती केन्द्रलाई स्वचालित बनाइएको छ । जैविक फोहोरलाई विकेन्द्रित गरिन्छ । नगर निगमले फोहोर व्यवस्थापनका लागि छुट्टै कानुन बनाएको छ । होटल, अस्पताल तथा धेरै फोहर उत्सर्जन गर्ने स्थानमा नै फोहोर व्यवस्थापनका लागि निगमले विशेष व्यवस्था गरिदिएको छ । सहरको सबैभन्दा ठूलो तरकारी बजारमा बायोग्यास उत्पादनका लागि प्लान्ट स्थापना गरिएको छ ।
तरकारी बजारबाट दैनिक निस्कने २० देखि २५ टन फोहोर त्यहीँ व्यवस्थापन गरिन्छ । प्लान्टले दैनिक निस्कने एक हजार किलो बराबरको बायोग्यास इन्दौर नगर निगमले सञ्चालन गर्ने शहरी बसमा प्रयोग गरिन्छ । त्यसबाट बाँकी रहने अवशेषलाई जैविक मलका रूपमा प्रयोग गरिन्छ । यसले एकातिर इन्धन खरिदका लागि जाने ठूलो रकम बचेको छ भने अर्कोतर्फ कृषि उत्पादनमा वृद्धि भएको छ ।
शहरमा रोपिएका रुख तथा बिरुवाको पातलाई समेत मल बनाइएको छ । ती मल नगर निगमले रोपेका ती बिरुवा वा रुखमा नै प्रयोग गरिन्छ । शहरभित्र कपाल काट्ने पसलबाट निस्कने कपाल व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाइएको छ । स्थानीय नेहरु पार्क र इन्दौर चिडियाखानाबाट निस्कने फोहोर व्यवस्थापनका लागि ‘अर्गानिक बेस्ट कन्भटर मेसिन’ राखिएको छ । त्यसबाट दैनिक निस्कने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाइन्छ । प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि प्लास्टिक क्रसिङ मेसिन राखिएको छ । सार्वजनिक सवारी साधनमा फोहोर फाल्नका लागि डस्टबिन राखिएको छ ।
दैनिक तीनदेखि चार पटकसम्म नगर निगमको विशेष बाहनले सडक बढार्ने व्यवस्था मिलाइएको छ । घरमा नै कुहिने फोहोर व्यवस्थापन गरेर मल बनाउनका लागि प्रेरित गरिएको छ । त्यसबाट स्रोतमा नै कम फोहर उत्पादन हुन थालेको छ । यसलाई शहरभर नै अभियानका रुपमा अगाडि बढाइएको छ । प्लास्टिक तथा नकुहिने फोहाेर सङ्कलनका लागि नगर निगमले नै व्यवस्था गरेका व्यवसायीले घरघर पुगेर खरिद गर्ने व्यवस्था गरिएको छ ।
वर्षौंदेखि शहरको सार्वजनिक स्थानमा थुप्रिएको १२ लाख टन बढी फोहरलाई बायोरेमिडिशन प्रक्रियाबाट मल बनाइएको छ । त्यसबाट सहरमा नयाँ पार्क निर्माण गरी हरियाली प्रवर्द्धन गरिएको छ । बाँकी रहेका प्लास्टिकजन्य वा अन्य फोहोरको पनि विशेष तवरले व्यवस्थापन गरिएको छ । फोहोरमा फालिएका तर पुनःप्रयोग गर्न सकिने फोहोरका लागि छुट्टै प्रबन्ध गरिएको छ । ती फोहोर सिमेन्ट प्लान्ट वा प्लास्टिकजन्य सामग्री निर्माणका लागि उपयोग गरिन्छ । सो कार्यका लागि विशेष सुविधासहितको रोजगारी पनि दिइएको छ ।
दैनिक सङ्कलन हुने ६ सय टन बढी फोहोरलाई विशेष फोहर प्रशोधन केन्द्रमा लगिन्छ । त्यसलाई २८ दिनको विशेष प्रक्रियाबाट ८० टन बराबरको मल उत्पादन गरिन्छ । सो मल प्रतिकिलो खुला दुई रुपैयाँ र प्याकिङ गरिएको मल तीन रुपैयाँ भारुमा बिक्री गरिन्छ । उक्त मल स्थानीय किसानले खरिद गरेर लैजान्छन् भने बाँकी रहने फोहोर स्थानीय पार्क तथा बिरुवाका लागि प्रयोग गरिन्छ । घर तथा आवास पुनःनिर्माणबाट निस्कने फोहाेर व्यवस्थापनका लागि छुट्टै प्रशोधन प्लान्ट स्थापना गरिएको छ । त्यसबाट इँटा वा सडकमा बिछ्याउने ब्लक निर्माण गरिन्छ । सो सामग्रीसमेत नगर निगमले आफ्नै नवनिर्माणमा प्रयोग गर्ने गरेको छ ।
खासमा केही वर्ष पहिलेसम्म इन्दौर यति स्वच्छ र सफा होला भन्ने धेरैलाई लागेको थिएन, तर अहिले वास्तविकतामा परिणत भएको छ । उनीहरू भन्छन्- ‘खासमा यो त सुरुवात मात्रै हो, लामो यात्रा अझै बाँकी छ । स्वच्छता अभियानमा सन् २०१७ मा इन्दौर पहिलो पटक पहिलो नम्बरमा आउन सफल भएको छ ।’ शहरलाई स्वच्छ बनाउनका लागि आम नगरबासीले सङ्कल्प नै गरेका छन् । त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गरेका छन् । सुरुवाती चरणमा शहर सफाइका लागि रेडियो, टेलिभिजन पत्रपत्रिका, बालपेन्टिङ गरेर जनचेतना जगाइयो । फोहोर सङ्कलनका लागि गुड्ने सवारी साधनमा जीपीएस जडान गरिएको छ । यस्तै ५० माइक्रोनभन्दा कम प्यास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
निगमकी प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहका अनुसार इन्दौरले वातावरण संरक्षण र फोहोर व्यवस्थापन गरेर मात्रै ‘कार्बन क्रेडिट बिक्री गरेर’ झन्डै १० करोड भारु बराबरको आम्दानी गरेको छ । शहरमा बिजुलीको खर्च बचाउनका लागि सौर्य प्रणाली जडान गरिएको छ । त्यसका लागि ‘ग्रीन बण्ड’ बिक्री गरेर स्रोत सङ्कलन गरिएको थियो । त्यसबाट ६० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गरिएको छ । उक्त बण्डलाई धर्ती बचाउने महाअभियानको नाम दिइएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापन केन्द्र, बायोग्यास उत्पादन स्थल, फोहोरको पुनः प्रयोग वा व्यवस्थापन केन्द्रलगायतको स्थानको अवलोकन गरेका थिए । ती स्थानको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले इन्दौरको सफल अभ्यास नेपालका लागि समेत अनुकरणीय रहेको बताएका थिए । उनले नेपाल सरकारको तर्फबाट विशेष टोली नै बनाएर इन्दौरको फोहोर व्यवस्थापनका बारेमा जानकारी लिन पठाउने बताएका थिए ।
काठमाडौँ उपत्यका र शहरी क्षेत्रको फोहर व्यवस्थापन गर्न नसकेर समस्यामा परेको सरकार र सरकारका कार्यकारी प्रमुखले नै त्यसमा विशेष चासो लिएर सकारात्मक अनुभवलाई यहाँ प्रयोग गर्ने सङ्कल्प गरेका छन् । विशेषतः काठमाडौँ उपत्यकाका लागि यो तत्काल गरिहाल्नुपर्ने कामका रूपमा रहेको छ । त्यसका लागि आजैदेखि पहल थाल्न जरुरी छ । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको ‘स्वच्छ भारत अभियान’ को सफल अभ्यास इन्दौरबाट काठमाडौँले सिक्दा केही फरक पर्दैन। त्यसका लागि जागरुकता र प्रतिबद्धता भएमा फोहाेरमाडाैँमा परिणत भएको काठमाडौँ उपत्यका पनि इन्दौर जस्तै सफा र स्वच्छ हुन सक्छ ।
प्रतिक्रिया