भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाउँछाैं : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन्।
शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी रहेका उनले आज बिहान बर्दिबास-४, माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता बताए।
‘जो होस् गलत गर्ने कारबाहीको भागी बन्छ। अब राजनीतिक हैसियत र बठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उनको भनाइ छ ।
‘गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्। ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्छ।’ पछिल्लो समयमा मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएका उनको गुनासो थियो ।
‘मिटरब्याजपीडितले आफ्नै प्रतिनिधिको राम्रो साथ पाएका छैनन्। मिटरब्याजी सामाजिक अपराधीमा अझै दरिएका छैनन्,’ उनले भने, ‘यो अवस्था अन्त्यका लागि प्रहरी, प्रशासनिक निकाय र स्थानीय तहका प्रतिनिधिमा थप प्रतिबद्धता आवश्यक छ।’
शनिबार जिल्ला सदरमुकाम जलेश्वर र रामगोपालपुरमा आयोजित कार्यक्रममा पनि उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको प्रत्याभूति सरकारको प्राथमिक दायित्व भएको बताएका थिए।
प्रतिक्रिया