साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
२५ जेठ २०८० १९:२३
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिपका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।
छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । त्यसैगरी डिफेन्डरमा विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् । त्यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा र लाकेन लिम्बू रहेका छन् ।
यसैगरी फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराजसिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर रहेका छन् । प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भूटान र बङ्गलादेश रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल आगामी ६ असार गते कुवेतसँग खेल्नेछ भने असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया