बजेट छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रिको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए।
जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिवभन्दा माथि माथिल्लो स्तरका अधिकृत बैठकमा अनिवाय रूपमा नोट गर्न पनि निर्देशन दिए।
‘आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक हुँदैन। मन्त्रीको उपस्थिति नभए बैठक नचल्ने विगतको परम्परा पनि हो। त्यसैले म सरकार र अर्थ मन्त्रालय र अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष तिमिल्सिनाले भने।
बैठकमा बोलेको विषय नोट नगरी कसरी जवाफ दिन सकिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले अनिवार्य रूपमा बसेर सबै रिपोर्ट टिपोट गर्ने व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण गराए।
सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रियसभाको नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे।
उनले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यो विषयलाई उठाएको स्मरण गराए।
प्रतिक्रिया