
‘पपुलिस्ट’ हरूको राजनीति व्यापारिक पुँजीवादलाई पक्षपोषण गर्ने अभियान हो : शंकर पोखरेल


नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन्।
राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई स्पष्ट रूपमा अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही ‘पपुलिस्ट’ हरू राजनीतिको विकल्पको रूपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजीवादको पोषण पक्षधर रहेको बताएका हुन्।
न्यूज एजेन्सी नेपालसँगकाे कुराकानीमा उनले नयाँको नामबाट सुरु भएका राजनीतिक दलहरूकाे यथास्थितिवादलाई पोषण गर्नेबाहेक अन्य ठोस आधार र धरातल नभएको बताए।
महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरे पनि समाज परिवर्तनका आकांक्षाहरूलाई सम्बोधन गर्न र समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने दाबी गरे।
समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहोर्याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनको भनाइ छ।
उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरू विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए। उनले राजनीतिक दलहरूले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न नहुने बताए।
राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रूपमा अहिले पपुलिस्टहरू राजनीतिको विकल्पको रूपमा आएको बताए। पपुलिस्टहरूले कहिल्यै पनि समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने उनको दाबी छ।
नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए।
महासचिव पोखरेलले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने बताए। उनले राजनीतिक क्रान्तिका समयमा सबै दलहरू मिलेर अघि बढे जसरी नै समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरू एक हुन जरुरी रहेको बताए।
उनले साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रूपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीतिविहीनतातिर लैजाने गरेको आरोप लगाए। उनले यस्ता गतिविधिलाई अन्त्य गर्न एक्लाएक्लै चुनाव लड्न जरुरी रहेको उल्लेख गरे।
राजनीतिलाई विकृत बनाउन साना दलहरूले खेलिरहेको भूमिकाबाट राजनीतिलाई जोगाउन कांग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद निर्माण भएको उनको बुझाइ छ।
निर्वाचनलाई राजनीतिक परिवर्तनको रूपमा प्रयोग गर्न नसकिएकोप्रति उनले दुखेसो गरे। उनले समाजको आवश्यकता समयमा बुझ्न नसक्दा अहिले पपुलिस्टहरूको राजनीति उदाएको टिप्पणी गरे।
उत्पादन सम्बन्धमा परिवर्तन भए पनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल भइरहेको उनको भनाइ छ।
महासचिव पोखरेलले व्यापारिक पुँजीवादमा आश्रित बन्न पुगेको नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताए। उनले नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सके मात्रै नेपालको राजनीतिक प्रणाली बलियो हुने आधार बन्ने बताए।
प्रतिक्रिया