एमालेमा फर्किन तयार भए वामदेव गौतम, ओलीले भने- भन्नु के नै छ र!

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा फर्किन तयार भएका छन्।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेको निर्णयपछि उनले बुधबार अपराह्न संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन्।

तर, त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्षसमेत रहिसकेका गौतमले बताएका थिए। विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ।

उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने बताए। एमाले आफूले निर्माण गरेको पार्टी भएकाले त्यसको माया लाग्ने गौतमले बताए।

उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए। उनले केही दिनभित्र पार्टी सदस्यता नवीकरण गर्ने पनि बताए।

गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए।

यसैबीच पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए। संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमालेमा आउने कुरा गर्नुभयो नि भनी प्रश्न गरेका थिए। ओलीले अब थप केही कुरा छ र भन्ने प्रतिक्रिया दिए।

उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए।

ओलीले भने, ‘उहाँले सदस्यता छ भन्नु भयो होइन, अनि कुरा बाँकी छ केही छ थप कुरा? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो। एकता अभियान चलाउनुभयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठीक छ। ठीक छ उहाँको पार्टी सदस्यता एमालेमै छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर