मोदीजीले नेपाल भ्रमण गर्ने कुरालाई ठूलो महत्त्व दिनुभएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने कुरालाई ठूलो महत्त्व दिएको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

उनले मोदीसँगको भेटमा आफूले उनलाई नेपाल भ्रमणको निम्ता दिएको र मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताएको पनि जानकारी गराए।

उनले भने, ‘मैले भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्ता दिएको छु र भारतका प्रधानमन्त्रीले आफूले सन् २०१४, २०१८ र २०२२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेपालको भ्रमणलाई ठूलो महत्त्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुत बनाउन योगदान गरेको बताए।

उनले भारतका प्रधानमन्त्री मोदीसँग खुलस्त रूपमा भएको कुराकानीबाट विश्वासको वातावरण सिर्जना भएको र थाँती रहेका विषयलाई सम्बधोन गर्न सकिने विश्वासको आधार तयार भएको बताए।

गत वर्ष सम्पन्न आमनिर्वाचनपश्चात आफ्नो पहिलो विदेश भ्रमणको रूपमा रहेको भारत भ्रमण विगतका भ्रमणभन्दा फरक पाएको उनले बताए।

सारभूत रूपमा यो भ्रमण परिणाममुखी रहेको र यसले भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत कोरेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० गतेसम्म भारतकाे भ्रमण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर