गणतन्त्र दिवस : पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा
चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ ।
अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ । तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गरेका थिए ।
तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै । अर्थात् असफल भयो । ‘नेपालमा ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउन कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैन,’ निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन । ठूलो लगानी चाहिने यस्ता चलचित्र एक्लो निर्माताको प्रयासले सम्भव हुँदैन ।’
उनी पुनः ऐतिहासिक विषय रहेको ‘कोत पर्व’ शीर्षकमा चलचित्र निर्माण गर्ने तयारीमा छन् । नामले नै विषयवस्तु प्रस्ट्याउने चलचित्र निर्माण गरेर दर्शकसम्म ल्याउन उनलाई सहज छैन । किनकि यस्ता विषयमा निर्माण लागत र समयको चित्रण खर्चिलो हुन जान्छ ।
विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गरेका थिए । यसले भने व्यावसायिक सफलता समेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन् । तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ ।
‘नालापानी’ भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन ।
वितरक करण श्रेष्ठले व्यावसायिकरूपमै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिए । ‘कलात्मक रूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ । ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार नदेखिनु दुखद् हो,’ वितरक करण श्रेष्ठले भने ।
त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ । स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन् । अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन् ।
परिचित अनुहारलाई अभिनय गराउँदा प्रचारप्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताए । ‘हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो । यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ,’ निर्देशक देउजाले भने । ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उनले कारक देखेका रहेछन् ।
‘भारतमा केही समयदेखि उनीहरूले आफ्ना घटनाक्रमलाई पर्दामा ल्याइरहेका छन् । ती चलचित्रमा पहिलेको तुलनामा दर्शक पनि बढेका छन् । तर त्यहाँ बजार र लगानीकर्ता दुवै छन् । हामीले सीमित स्रोत साधनमा काम गर्नुपर्छ,’ निर्देशक देउजाले भने । उनले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिँगेदाउँ’ निर्देशन गरेका छन् ।
नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्ने क्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन । साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताए । गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उनले केही समययता सङ्घर्ष गरिरहेका छन् ।
उनकाे निर्माण तथा निर्देशन ‘गोर्खा वारियर’ तयार भइरहेको छ । छायाङ्कन र प्रदर्शन दुवैमा उस्तै सङ्घर्ष गर्नुपरेको उनले बताए । ‘छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ, प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु,’ उनले भने ।
आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहेका छन् । तर आफैँ नयाँ भएकाले त्यो आँट गरेनन् । चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ । गोर्खाली सैनिक जङ्गल युद्धमा अन्य भन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उनले जानकारी दिए ।
‘गोर्खालीसँग जङ्गल युद्धमा अरु सेनाले आट्ने काम नै गर्दैनन् । साथै जङ्गल युद्ध देखाउँदा हाम्रो बजेटले पनि साथ दिने भएकाले यहीँ कथा रोजेका हौँ,’ निर्देशक चाम्सले भने ।
भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भएको अनुभव छ, निर्देशक चाम्ससँग । सम्बन्धित निकायबाट सङ्ग्रहालयमा भएका पुराना सामान नपाउँदा आजभन्दा ८० वर्ष अगाडिको समय देखाउन चुनौती नै थियो ।
‘बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एक वर्ष लाग्यो,’निर्देशक चाम्सले भने । यसको छायाङ्कन १८ दिन मलेसिया र ५० दिन सिन्धुलीमा गरिएको छ । देशले गर्व गर्न सक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता निर्देशक चाम्सले बताए । ‘व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ,’ उनले भने ।
बेलायतको लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स प्रविधिजडित सिनेवर्ल्डमा निर्देशक चाम्सले ‘गोर्खा वारियर’को प्रिमियर गर्दैछन् । भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रिमियरमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उनकाे छ ।
‘पूर्वसैनिक भएकाले पनि यो मेरो लागि चलचित्र मात्र होइन । यसको सफलताले हामीलाई आगामी दिनमा यस्तो चलचित्र निर्माण गर्न प्रेरित गर्नेछ । साथै नेपाली चलचित्र विश्वलाई देखाउने सपना छ,’ निर्देशक चाम्सले भने ।
नेपालमा ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर निर्माण गरिने चलचित्रमा लागत समस्या बन्ने गरेको छ । कम लागतमा महत्त्वपूर्ण विषयलाई पर्दामा महसुस गर्न नसक्दा दर्शकको उपस्थिति चलचित्र भवनमा कम देखिन्छ । यस्ता चलचित्रको आगामी बाटो तय गर्ने सङ्केत ‘गोर्खा वारियर’ को सफलता वा असफलताले दिनेछ ।
प्रतिक्रिया