कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माइतीघरमा नर्सहरूको धर्ना (तस्बिरहरू)
अस्पतालहरूमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरूले धर्ना दिएका छन्।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरूमा कार्यरत नर्सहरूले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमबारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन्।
उनीहरूले न्यून तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्यांकन गर्नुपर्ने माग राखेका छन्।
धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरूको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नुपर्ने प्रमुख माग रहेको बताइन्।
उनले न्यून तलबमा क्षमताभन्दा बढी बिरामीको हेरचाह गरे पनि कामको मूल्यांकन हुन छोडेको बताएकी छिन्। उनले पछिल्लो समय नर्सहरू सुरक्षित रूपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताइन्।
उनले नर्स पेशालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने बताइन्। उनले अस्पतालमा एक जना नर्सले बिरामी हेर्ने चाप कम गर्नुपर्ने बताउँदै एक जना नर्सले हेर्ने बिरामीको कार्यभार कम भए मात्रै बिरामीले चाहेको जस्तो सेवा दिन सकिने बताइन्।
धर्नामा बस्ने नर्सहरूले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्, गल्ती देख्नेहरूले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता प्लेकार्ड नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रतिक्रिया