बाग्लुङका ट्याक्सी चालक विष्णु र रामु जो निःशुल्क बिरामी बोक्छन्

पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे। सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएनन्, गलकोटमै ती बिरामीको उपचार होला भनेर ।

अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवासुविधा के–के छन् भनेर बुझ्न थाले। आफैँले अस्पताल पु¥याएको बिरामीले उपचारपछि औषधि लिएर फर्किएको देखेपछि काउचा दङ्ग परे ।

अस्पतालको सेवा सुधार भएको विषयमा सबै जानकारी पाएका काउचा आफूले ल्याएको बिरामीले समयमा उपचार पाएपछि खुसी मात्रै भएनन्, तत्कालै समाजसेवी निर्णयसमेत गरे। बडिगाडबाट तोकिएको भाडा लिएर अस्पताल बिरामी पु¥याएका काउचाले अब भने निःशुल्क बिरामी बोक्ने निधो गरे ।

‘अस्पताल पुगेपछि थाहा भयो यहाँ राम्रो उपचार हुँदोरहेछ’, काउचा ले भने, ‘गाउँमै सेवा पाए किन बाहिर जानु, विपन्न बिरामीका लागि त झन् राम्रो सुविधाको कुरा भयो, सवारीको असुविधा देखेर मैले निःशुल्क बिरामी बोक्ने निर्णय गरेँ ।’ काउचा अहिले हप्तामा एक दिन गलकोटको हटिया बजारदेखि हरिचौरस्थित अस्पतालसम्म निःशुल्क बिरामी बोक्छन्। अस्पताल पुगेपछि आफू निकै प्रभावित भएको काउचाले बताए । हरेक सोमबार उनले निःशुल्क बिरामी बोक्ने निधो गरेका हुन् । यो निर्णयपछि उनलाई धेरै गलकोटेले हौस्याएका छन् ।

गलकोटको हटिया बजारदेखि १५÷२० मिनेट कच्ची सडकको यात्रा गरेपछि नगर अस्पताल पुगिन्छ । मध्यपहाडी लोकमार्गमा चल्ने सवारी चढेर हटिया बजार झर्नेहरूका लागि ट्याक्सी, पिकअप भ्यान वा टेम्पो रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । भाडादरमा एकरूपता नभएकाले बिरामीले अस्पताल पुग्न असुविधा महसुस गर्दै आएका थिए । यही अवस्था देखेपछि निःशुल्क बिरामी बोक्ने निर्णयमा पुगेको काउचा बताउछन् । ‘अस्पतालमा बिरामीको उपचार भइरहेको देखेपछि सहयोग गरौँ भन्ने लाग्यो, आफूसँग गाडी भएकाले बिरामी बोक्ने निर्णय गरेँ’, उनले भने ।

काउचाको यो निर्णयको चर्चा नसकिँदै अर्का मनकारी ट्याक्सी व्यवसायीले पनि निःशुल्क सेवा दिने निर्णय गरेका छन् । मानवसेवा नै धर्म हो भन्दै गल्कोट–२ तोरीखोलाका रामु पुनले हरेक बिहीबार निःशुल्क बिरामी बोक्ने निर्णय गरेका हुन् । उनको ट्याक्सी चल्ने क्षेत्र वडा नं २ नरेठाँटी हो । नरेठाँटीबाट निःशुल्करूपमा बिरामीलाई अस्पताल पु¥याउने पुनले बताए।

‘विष्णुजीले हटियाबाट बिरामी निःशुल्क बोक्न थाल्नुभयो, बूढाबूढी, बिरामी र अपाङ्गता भएकाहरूले अस्पताल पुग्दा भोगेको सास्ती देखेर मलाई पनि सेवा गरौँ भन्ने लाग्यो’, पुनले भने, ‘हप्तामा छ दिन त मैले कमाइ हाल्छु, एक दिन सेवामा लाग्दा के नै सकिन्छ र ?’ उनले पहिलो दिन नै नरेठाँटीबाट २० जना बिरामी अस्पताल पु¥याएको बताए ।

दुवै जनाले बिहान १० देखि दिउँसो ४ बजेसम्म आफ्ना ट्याक्सी बिरामीका लागि तयारी अवस्थामा राख्ने गरेका छन् । बिहान–बेलुका भने भाडामा आफ्ना ट्याक्सी चलाउछन् । ‘अस्पताल र हटिया बजारको दूरीका कारण बिरामीले मर्का महसुस गर्नुभएको थियो, अर्को कुरा सवारीमा अस्पताल पुग्दा भाडादरमा एकरूपता नहुँदा समस्या थियो’, अस्पतालका प्रमुख डा राजेश पौडेलले भने, ‘अहिले युवाहरूले समाजसेवी भाव राख्नुभएको छ, यसले बिरामीलाई धेरै सहयोग गर्छ ।’ अस्पतालले सेवा विस्तार गर्दा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । तर पछिल्लो समय उपचार सेवाभन्दा पनि बिरामीले सडकको सहजता खोज्ने गरेका छन् ।

गलकोट नगर अस्पताल पुग्दा बिरामीको उपचार निःशुल्क हुने तर सवारी भाडाले मात्रै ढाड सेक्ने अवस्था थियो । युवाहरूको निःशुल्क ट्याक्सी सेवाको निर्णयले कैयौँ बिरामीलाई राहत भएको छ ।

गलकोट नगरपालिकाले नै अस्पतालसम्म पुग्ने भ्यान वा टेम्पो सेवा सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको डा पौडेलले बताउनुभयो । हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल सञ्चालनमा आएपछि पौडेल सहितका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *