सगरमाथा आरोहणका क्रममा चिनियाँ नागरिकको मृत्यु
मृत्यु हुनेको संख्या आठ पुग्यो
सगरमाथा आरोहणको क्रममा आज बिहान चिनियाँ नागरिकको मृत्यु भएको छ । यद्यपि, उनको परिचय र मृत्युको कारण भने अझै खुलिनसकेको सगरमाथा बेसक्याम्पस्थित स्रोतले जनाएको छ ।
८ के एक्सपिडिसन प्रालिको सहयोगमा उनले सगरमाथा आरोहण गर्न लागेका थिए । ‘सगरमाथाको दक्षिण चुचुरोतर्फ चिनियाँ नागरिकको मृत्यु भएको खबर हामीले पाएका छौं । तर, राम्रोसँग सम्पर्क हुन नसक्दा घटनाको विस्तृत जानकारी पाउन सकिएको छैन,’ उक्त कम्पनी स्रोतले भन्यो ।
यस सिजनमा सगरमाथा आरोहणको क्रममा सोलुखुम्बु पुगेकामध्ये ८ जनाको मृत्यु भइसकेको छ । सगरमाथा आधार शिविरमा बिरामी परेकी एक भारतीय महिला आरोहीको बिहीवार बिहान लुक्लामा मृत्यु भएको छ । ग्लेसियर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक डा डेन्डी शेर्पाका अनुसार सुजेन लियोपोल्डिना जिससको लुक्लास्थित अस्पतालमा उपचारका क्रममा बिहान ५ः१३ बजे मृत्यु भएको हो ।
महाराष्ट्र, मुम्बईकी ५९ वर्षीय आरोही आधार शिविरमा ६ दिनदेखि बिरामी थिइन् । सुज्यानले पेसमेकरको सहायताले आरोहण गरिरहेकी थिइन् तर आधार शिविरभन्दा माथि जान सकिनन् । उनले मे २०२२ मा सगरमाथा आधार शिविरमा पदयात्रा पूरा गरेकी थिइन् । सगरमाथाको प्रयास गरेर, उनले पेसमेकरमा एसियाकै पहिलो व्यक्ति र सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध भारतीय बन्ने लक्ष्य राखेकी थिइन् ।
यस्तै, चार शेर्पा पर्वतारोही, एक अमेरिकी डाक्टर र मोल्डोभाका पर्वतारोहीको पनि मृत्यु भएको हो । उनीहरुको सर्वोच्च शिखर चुचुरोमा पुग्ने क्रममा मृत्यु भएको थियो । मोल्डोभाका भिक्टर ब्रिन्जा, अमेरिकी डाक्टर जोनाथन सुगरम्यान, फुर्वा शेर्पा, दावा छिरी शेर्पा, पेम्बा तेञ्जिङ शेर्पा र लाक्पा शेर्पाको मृत्यु भएको हो ।
प्रतिक्रिया