सांसदले नसोध्दै प्रश्नहरू सञ्चारमाध्यममा आउनु उपयुक्त भएन : रघुजी पन्त
४ जेठ २०८० १५:४२
सांसदहरूले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएका प्रश्नहरू प्रतिनिधिसभा बैठकअगावै बाहिरिएकोमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार ३ दिनअगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरू बिहीबार बिहानै सञ्चारमाध्यमहरूमा प्रकाशित भएका थिए।
प्रश्नहरू आउट भएकोमा सांसद पन्तले प्रतिनिधिसभा बैठकमै असन्तुष्टि जनाएका हुन्। उनले प्रश्न कसले आउट गरेको हो भनी प्रश्नसमेत गरे।
उनले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेष अधिकार सांसदहरूको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चारमाध्यमहरूमा आउनु अनुपयुक्त भएको बताए।
उनले आगामी दिनमा यसरी प्रश्नहरू आउट नगर्न ध्यानाकर्षणसमेत गराए।
प्रतिक्रिया