चितवनमा विशेष प्रहरी हाैं भन्दै व्यवसायीलाई धम्क्याउने चार जना पक्राउ

चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचयपत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका-८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका-५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका-१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरूलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उनले बताए । भरतपुर महानगरपालिका-१२, मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरूले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्रसमेत बनाएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनीहरूलाई मुलुकी अपराध संहिताको लिखतसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । सो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर