नेपाल विश्वविद्यालय आवश्यक छ, विधेयक फिर्ता हुँदैन : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन्।
बुधबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडि सारेको बताएका हुन्।
उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।
मन्त्री राईले परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरू मात्रै लिएर जानु उपयुक्त नहुने भन्दै नयाँनयाँ प्रयोग गरेर जानुपर्ने बताए। उनले नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रूपमा बनाउनुपर्ने बताए।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले विधेयकलाई अगाडि बढाउनुपर्ने बताए।
विधेयक कसले ल्यायो भन्दा पनि कस्तो ल्यायो भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले ठीक भएको खण्डमा अगाडि बढ्नुपर्ने बताए। उनले विधेयकको सम्बन्धमा पछाडि फर्किन नहुने धारणा राखे।
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाल विश्वविद्यालय निर्माणमा सरकारको पनि संलग्नता आवश्यक रहेको बताए। निजी क्षेत्रले बनाउने भने पनि सरकारको सहयोग र संलग्नता आवश्यक रहेको उनको भनाइ छ।
उनले नेपाल विश्वविद्यालयको संगठनात्मक संरचना र पाठ्यक्रममा हस्तक्षेप गर्न नहुने बताए।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले नेपालमा धेरै विश्वविद्यालय आवश्यक नभएको बताए। उनले त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउनुपर्ने बताए।
उनले सम्भव भए नेपाल विश्वविद्यालय विधेयकलाई जहाँबाट आएको हो उतै पठाइदिनुपर्ने बताए।
उनले शिक्षा ऐन ल्याउन मन्त्री राईलाई आग्रह गरे। शिक्षा ऐन आउन ढिलाइ भइसकेको उनको भनाइ छ।
प्रतिक्रिया