संसदमा जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

प्रतिनिधिसभाको जेठ ४ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए।

उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भएबमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौं। त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदैछ। त्यो हुँदा संसदभित्र रहेका दलहरूको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्ने गरी समझदारी बनेको छ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए। उनले सकेसम्म सोमबार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे।

उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए। उनले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरूले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे।

उनले संसदीय समितिहरूको बैठक भोलि (सोमबार) नै बस्न सक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *