बालबालिकालाई आज नियमित खोप लगाइँदै

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइने जानकारी दिए ।

यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्ने उद्देश्यले यही वैशाख १५ गते र आज दुई दिने बृहत् खोप अभियान सञ्चालन गरेकाे हाे । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएकाे मन्त्रालयले जनाएकाे छ । केही जिल्लामा खोप छुटेका बच्चाको संख्या बढ्दा दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले खोप दिन थालेको हो । मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन आग्रहसमेत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *