प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा उक्त प्रतियोगिताको बलाधिकृत रथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

उद्घाटन खेल काठमाडाैँ जिल्ला टेनिस एशोसिएशनका मनोज श्रेष्ठ र याक एण्ड यति क्लबका आशीष सिग्देलबीच भयो । आगामी जेठ ५ गतेसमम सञ्चालन हुने प्रतियोगिता खुलातर्फ पुरुष र महिला एकल तथा मिक्स युगल विधामा हुनेछ ।

भेट्रानतर्फ ३५ वर्ष, ४५ वर्ष र ५५ वर्षमाथि एकल र युगल तथा ६५ र ७० वर्षमाथि एक विधामा खेल सञ्चालन भइरहेको छ । विभिन्न तेह्र खेल विधामा दुई सय ५५ प्रतिस्पर्धा हुने प्रतियोगितामा १४ टेनिस क्लब र विभागीयसहित एक सय ७७ खेलाडीको सहभागिता छ ।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सैन्यकार्य महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले सैनिक नागरिकसम्बन्ध विस्तारको कडीका रूपमा रहेको प्रतियोगिता मुलुकको खेलकुदको विकासमा योगदान पुर्‍याउन सकियोस् भन्नका खातिर आयोजना गरिएको बताए ।

सेनाले प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पहिचान र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकियोस् भन्ने लक्ष्य राखेको छ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५० हजार, २५ हजार र१५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *