बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिँदै छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारलाई अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरेका हुन्।

उनले बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए। उनले अर्थतन्त्र संकटमा रहेका बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरू हुनै नसक्ने दाबी गरे।

उनले नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रूपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए।

अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए। उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाए। उनले नेकपा (एमाले) प्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै आपत्ति जनाए।

अध्यक्ष ओलीले भ्रष्टाचारको विरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाए। उनले संसदमा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकको विषय रहेको बताए।

उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने विपक्षीहरूलाई धम्की दिने काम भइरहेको बताए। अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भए पनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको बताए। उनले सरकारी सम्पत्ति निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर कमिसन खानेकुरा सह्य नहुने चेतावनी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर