अध्यक्ष सुलभ अग्रवालकाे नेतृत्वमा यसरी मर्जर भएर बन्याे हिमालयन लाइफ इन्स्याेरेन्स

गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बनेकाे हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीकाे सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल चुनिएका छन्।

संयुक्त मर्जर कमिटीले साविक युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष अग्रवाललाई मर्जरपछिको हिमालयन लाइफ इस्योरेन्सको अध्यक्ष चयन गरेको हो। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।

गत मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको हिमालयन लाइफ इन्स्योरेन्समा साविकका तीनवटै कम्पनीबाट दुई-दुई जनाका दरले प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको छ। कम्पनीमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्न भने बाँकी छ।

सञ्चालक समितिमा साविक युनियन लाइफको तर्फबाट सुलभ अग्रवाल अध्यक्षसहित जीवनकुमार अग्रवाल पनि चुनिएका छन्। त्यस्तै साविक प्राइम लाइफको तर्फबाट राजीवप्रसाद प्याकुरेल र प्रमिल केसी थापा चुनिएका छन्।

साविक गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर चयन भएका छन्। साविक युनियन लाइफका कम्पनी सचिव ईश्वरकुमार सेढाईंले मर्जरपछिको कम्पनीमा पुनः सचिवकै नियुक्ति पाएका छन्।

हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा साविक युनियन लाइफका मनोजकुमार लाल कर्ण छनोट भएका छन्। नायब प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन्। जसमा साविक गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लाल कर्ण र साविक युनियन लाइफका कपिलकुमार दाहाल रहेका छन्।

मर्जरका क्रममा कुनै पनि कर्मचारीको पद घटुवा भएको छैन। नेपाल बीमा प्राधिकरणले मर्जरका क्रममा कुनै पनि कर्मचारीले खाइपाइ आएको तलब भत्ता सुविधामा कटौती गर्न नपाइनुका साथै पदमा पनि घटुवा गर्न नपाउने व्यवस्था गरेकाले साविक कम्पनीमा काम गर्दाको पद नै निरन्तर रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर