भुटानी शरणार्थी प्रकरणबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीको ध्यानाकर्षण

नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा कतिपय सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको क्रममा रहेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

‘हालका दिनहरूमा कतिपय अनलाइन तथा छापा मिडियाहरू र विभिन्न सामाजिक सञ्जालहरूमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरूलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ।’

साथै तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनसमेत प्रहरीले अनुरोध गरेको छ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्। आज बिहान मात्रै प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ।

हिरासतमा रहेकाहरूले दिएको बयानका आधारमा उच्च पदस्थहरू अनुसन्धानमा तानिने क्रम जारी छ।

हेर्नुस् विज्ञप्ति :

 

प्रतिक्रिया

One thought on “भुटानी शरणार्थी प्रकरणबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीको ध्यानाकर्षण

  1. गलत, मनोगत र भ्रमपुर्ण समाचार प्रेसित गर्ने हरु लाई ब्ल्याक लिस्ट मा समेत राख्न पर्ने र यथोचित सत्कार नगरेर किन येस्तो बिग्यप्ती, र कारबाही गर्न के ले रोक्यो? जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर