क्यानडा र चीनले निकाले एकअर्काे देशका कूटनीतिज्ञ

क्यानडाले आफ्ना सांसदलाई धम्की दिएको आरोपमा एक चिनियाँ कूटनीतिज्ञलाई देश निकाला गरेपछि चीनले पनि त्यसको बदला लिँदै क्यानडाली कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।

क्यानडाले चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेको केही घण्टापछि चीनले पनि क्यानडाली कूतनीतिज्ञलाई देश छाड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार दुवै कूटनीतिज्ञलाई देश छाड्न पाँच दिनको समय दिइएको छ।

चीनको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सांघाईमा रहेको क्यानडाको वाणिज्य दूतावासमा कार्यरत जेनिफर लालन्डेलाई शनिबारसम्म देश छाड्ने समय दिइएको छ।

चीनले क्यानडाको कदमलाई ‘अवैध व्यवहार’ को संज्ञा दिँदै आफ्नो कदमलाई ‘पारस्परिक प्रतिकार्य’ भनेको छ।

सोमबार क्यानडाले चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई देश छाड्न आदेश दिएको थियो। जवाफमा चीनले मंगलबार क्यानडाली कूटनीतिज्ञ जेनिफर लिन लालोन्डेलाई हटाउन आदेश दिएको हो।

क्यानडाली सांसद माइकल चोङले चीनमाथि मानव अधिकार उल्लंघनको आरोप लगाएका थिए। यससँगै उनी र हङकङमा रहेका उनका आफन्तलाई डर र धम्की देखाइएको थियो। यो काममा चिनियाँ कूटनीतिज्ञ झाओ वेई संलग्न रहेको क्यानडाको दाबी छ।

गत बिहीबार क्यानडाले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नसहने बताएको थियो।

क्यानडाले सन् २०१८ मा अमेरिकी ठगीको आरोपमा हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झोउ र चीनले जासुसीको आरोपमा दुई क्यानाडालीलाई पक्राउ गरेपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध नराम्ररी बिग्रिएको छ। पक्राउ परेका तीनै जनालाई सन् २०२१ मा रिहा गरिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *