सार्कका गभर्नरहरूको बैठकमा के-के विषयमा भयो छलफल?
‘४३ औं सार्क वित्त गभर्नरहरूको बैठक र गोष्ठी’ वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामाबादमा सम्पन्न भयो। बैठकमा नेपालका गभर्नर महाप्रसाद अधिकारीसहित सार्क राष्ट्रका गभर्नरहरू सहभागी थिए।
कार्यक्रमको पहिलो दिन आयोजित ‘४३ औं सार्क वित्त गभर्नर समूह बैठक’ मा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरे।
उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता बिस्तारै कम हुँदै गएको बताए।
उक्त बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड संकटका साथै रुस-युक्रेन युद्धबाट सिर्जित भू-राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्बन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए।
बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्यलगायतका विषयमा छलफल भएको थियो।
दोस्रो सत्रमा बैंकका उपनिर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘सार्क क्षेत्रमा केन्द्रीय बैंक डिजिटल मुद्राको सम्भावना’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरे। सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा. एम फारुक अर्बीले उक्त बैंकको नेतृत्वमा सम्पन्न ‘दक्षिण एसियाली केन्द्रीय बैंकहरूद्वारा अपरम्परागत नीति उपकरणहरूको प्रयोग’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए।
कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘जलवायु परिवर्तन र हरित वित्तपोषण : दक्षिण एसियामा पहल र दृष्टिकोण’ विषयक गोष्ठीमा बैंकका निर्देशक नारायणप्रसाद पोख्रेलले ‘नेपालमा जलवायु परिवर्तन र हरित वित्त पोषण’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। बैठकमा सहभागी भई गभर्नर अधिकारी वैशाख २१ गते स्वदेश फर्केका थिए।
प्रतिक्रिया